काठमाडौं ,२८ फागुन।राष्ट्रियसभा अध्यक्षमा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनु भएको छ । सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो। यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ । प्रदेश नम्बर ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका एमाले पोलिटव्यूरो सदस्य तिमिल्सिनालाई राष्ट्रिय सभाका अध्यक्षमा उम्मेदवार बनाउन एमालेका सांसद खिमलाल भट्टराईले गर्नु भएको प्रस्तावमा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा र एमालेका सांसद सुमनराज प्याकुरेलले समर्थक गर्नु भयो ।
राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्ष, सत्तापक्ष सबैको साझा र मर्यादित थलोको रुपमा स्थापित गराउन कुशल नेतृत्व दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले ऐन, कानुन निर्माणको काममा केन्द्रित हुने योजना पनि सुनाउनु भयो ।
राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार आगामी बुधबार अपरान्ह १ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । निर्वाचनमा ३ जना सांसदहरुले भने मतदान गर्न पाउने छैनन् । मतदाता नामावली सार्वजनिक भईसकेपछि सपथ लिनु भएका राष्ट्रिय सभाका मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले मतदान गर्न नपाउने कानुनी व्यवस्था रहेको पनि संसद सचिवालयले स्पष्ट पारेको छ । ५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यक्षको निर्वाचनमा ५६ जनाले मात्रै मतदान गर्नेछन ।

