काठमाडौँ, २९ फागुन । युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आजदेखि आफ्नो काम शुरु गरेको छ ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले आजैदेखि अनुसन्धानको काम शुरु गरेको जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव आचार्यले आयोगको काम शुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताउनुभयो ।
सहसचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी कुनै मान्यता नरहेको भएतापनि नेपालले दुई महिना ९० दिन र बढीमा पाँच महिना अवधिको समयावधि अभ्यास गर्दै आएको छ । सकेसम्म पाँच महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको उहाँले बताउनुभयो ।
बंगलादेशका पर्यटनमन्त्री, परराष्ट्रराज्यमन्त्री तथा त्यहाँको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको टोली काठमाडौँ आइसकेको र आज साँझ उनीहरुसँग छलफल हुने सहसचिव आचार्यको भनाइ छ । छ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी हुनुहुन्छ भने सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।
बंगलादेश–काठमाडौँ नियमित उडानमा रहेको युएस बंगाल एयरलाइन्सको उडान नं. ग्द्यन् द्दज्ञज्ञ ९म्ज्डम् वायुयान) अवतरणका क्रममा अपराह्न १४ः१८ मा विमानस्थलको पूर्वपट्टि रहेको मैदानमा दुर्घटनाग्रस्त भएको थियो ।
क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार दुर्घटनामा परी हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए । जसमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सरकारी तथ्यांक नै बाझियो
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा विमान दुर्घटनामा परी ५१ जना यात्रुको मृत्यु भएको जानकारी दिनुभएको थियो । तर उक्त तथ्यांक नमिलेको भन्दै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जहाज दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।