सक्रियताका साथ जनताको सेवामा लाग्न प्रधानमन्त्रीको निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन गराउनुभयो ।

प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिनुभयो । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरुरी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले शान्ति सुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता, अखण्डतामा आँच आउने तथा सामाजिक अमनचयन खल्बल्याउन खोज्नेलाई पूर्णरुपमा नियन्त्रण गर्नसमेत निर्देशन दिनुभयो ।

वर्तमान सरकार ऐतिहासिक अभिभारा पूरा गर्न आएको भन्दै कामचलाउ ढंगले चल्ने र चलाउन खोज्ने प्रवृत्तिसमेत स्वीकार्य नभएको उल्लेख गर्नुभयो । वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न गठन भएकाले सोहीअनुसार गर्न तथा जनतालाई केन्द्रमा राखेर परिणाम निस्कने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।