काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
प्रमाणपत्र ग्रहणपछि उपराष्ट्रपति पुनले ठूलो बलिदानपछि प्राप्त भएको नेपालको संविधान कार्यान्वयन गर्ने सम्बन्धमा उपराष्ट्रपतिको निर्वाचन अन्तिम भए पनि ऐतिहासिक भएको बताउनुभयो । उहाँले यस वर्ष नेपालको इतिहासमा निर्वाचनको वर्ष भएकाले त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवादसमेत दिनुभयो ।

