नेपाली काँग्रेसको मुख्य सचेतकमा खाण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, ६ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।

विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो । विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहनुभएका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उहाँका लागि निकै चुनौती र अवसरका रुपमा रहेको छ । मुख्य सचेतकमा मनोनयन हुनुभएपछि  कुराकानी गर्दै उहाँले काँग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो ।