चालक अनुमतिपत्रका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ९ चैत । उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भ¥याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो । सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भ¥याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए । आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको उहाँले बताउनुभयो ।