नुवाकोट, १९ चैत । स्थानीय भैरवी मन्दिरमा आज यस वर्षको सिन्दुरे जात्रा सम्पन्न् भएको छ ।
विदुर नपा–५ देवीघाटबाट अपराह्न ल्याइएको रथ भैरवीको मन्दिरमा भित्र्याउँदै जात्रा गरिएको हो । चैत शुक्ल पूर्णिमाका अवसरमा लाग्ने सिन्दुरे जात्रा जिल्लाको सबैभन्दा लामो जात्रा हो । पूर्णिमाको १५ दिनअघिदेखि नै जात्राका विभिन्न प्रक्रिया आरम्भ हुन्छन् । चतुर्दशीको दिन भैरवी मन्दिरमा लिङ्गो ठड्याइएपछि जात्राको रौनक शुरु हुन्छ ।
पूर्णिमाको दिन देवीघाटको जालपादेवी मन्दिरमा रथसहित भैरवीको प्रतिमालाई लगेर द्वितीयाको दिन फर्किएपछि भैरवी मन्दिरमा सिन्दूरे जात्रा गरिन्छ । सिन्दूरे जात्रापछि राति भैरवी मन्दिर परिसरमा धामीले जिउँदो पशुको बलि खाएपछि जात्राको मुख्य आकर्षण भने सकिने द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो ।
जात्रामा साततले दरबार क्षेत्रको भैरवी मन्दिर र देवीघाटको जालपा क्षेत्रमा जात्रालुको घुइँचो लागेको थियो । चैत शुक्ल चतुर्दशीको दिन दरबारको राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दूरे जात्राको निम्तास्वरुप बहिनी भैरवीले दिदी जालपादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती छ । किंवदन्तीअनुसार दिदी जालपादेवीसहित बहिनी भैरवी मन्दिरमा आउने र दिदी आएको अवसरमा सिन्दूर जात्रा गरी हर्षबढाइँ गरिने चलन छ ।
जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दूर जात्रा गरिन्छ ।

