काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।
मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दाे, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शंकारहित र भरपर्दाे मित्रता कायम गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको र कसैप्रति अर्घेल्याईं नगरी आफ्ना हितलाई राख्नुपर्ने उल्लेख गर्दै उहाँले दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको बताउनुभयो । अब दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । आफ्नो आसन्न भ्रमणलाई देश र जनताको अधिकतम हितमा कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रयास हुने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको कृषिमा आधुनिकीकरण, ऊर्जा उत्पादन र व्यापार वृद्धि, अशोभनीय व्यापार घाटा न्यूनीकरण, लगानीको आकर्षण, निर्यात वृद्धि, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयन, कनेक्टिभिटीमा विस्तार, एकीकृत चेकपोष्ट, पारस्परिक हित अभिवृद्धि, हुलाकी राजमार्ग जस्ता विषयमा दुवैतर्फबाट सहजीकरण गर्ने र भूकम्पपछि भारतले गरेको प्रतिबद्धता र जिम्मेवारीलाई तीव्रता दिन गम्भीर कुराकानी हुने बताउनुभयो ।
उहाँले नेपालका लागि भारतबाट सहुलितपूर्ण ऋण, नेपालको थप हवाईमार्ग र पारवहन थप सहज बनाउन, सीमा क्षेत्रको पूर्वाधार निर्माण, नेपालीहरुलाई सटही सुविधामा परेको नोक्सानी, क्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन र बिमस्टेकजस्ता अन्य क्षेत्रीय सम्मेलनलाई सञ्चालन गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा हुने बताउनुभयो । रासस

