काठमाणडाै, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अायाेजित पत्रकार सम्मेलनमा वाेल्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा २१ औँ शताब्दी अनुकूल आजको आवश्यकता नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा अघि बढ्छ भन्ने आधार भ्रमणले स्पष्ट गरेको उल्लेख गर्नुभयो ।
भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताउनुभयो । रासस