दाङ, २८ चैत ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा १३औँ पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक नेता गुमाएको बताउनुभयो । “स्व खड्काको निधनले काँग्रेस पार्टीलाई मात्र होइन मुलुकलाई नै क्षति पुगेको छ, उहाँ मुलुकका एक अनुभवी नेता हुनुहुन्थ्यो, उहाँ एक निडर र विकासप्रेमी जनताको नेता हुनुहुन्थ्यो,” सभापति देउवाले भन्नुभयो ।
श्रद्धाञ्जलि सभामा पार्टी महामन्त्री डा शशाङ्क कोइरालाले बिपीका चेला स्व खड्काका विचारलाई आत्मसात् गरेर काँग्रेस अगाडि बढ्ने बताउनुभयो । कोइरालाले खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पनि बताउनुभयो । (रासस)

