चितवन, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गर्नुभयो ।
मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उहाँले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याउनुभयो । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उहाँले बताउनुभयो । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उहाँले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।
छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उहाँले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताउनुभयो । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताउनुभयो । अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा (माओवादी केन्द्र) १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।

