चितवन, ३० चैत । नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताउनुभयो ।
बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्ट्याउनुभयो । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताउनुभयो ।
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए । विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । रासस

