काठमाडौं ,४ वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।
पार्टी एकता संयोजन समितिको आजको बैठकले मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकाे छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिनुभएको छ । निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।
दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो ।महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो । एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

