गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ६ वैशाख . सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ¥हास आएको छ ।

केन्द्रले सन् २०१३ मा गरेको परीक्षणमा नेपाली विषयमा ४९५ औसत सिकाइ उपलब्धि रहेकामा यो पटक ५०४ देखिएको छ । गणितमा अघिल्लो परीक्षणमा ५०८ रहेकामा हाल घटेर ४९२ र विज्ञानमा ५०२ बाट केही घटेर ४९९ औसत सिकाइ उपलब्धि देखिएको केन्द्रका प्रमुख डा लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

सरकारले दातृ निकायसमेतको सहयोगमा सञ्चालन गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य लक्ष्य विद्यालय शिक्षाको गुणस्तर सुधार्ने रहेको सन्दर्भमा केन्द्रको प्रतिवेदनले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल नआएको पुनः पुष्टि गरेको छ । केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमितरुपमा यस्तो परीक्षण गर्दैआएको छ ।