‘एमाले — माओबादीबीचको एकतालाई अब कुनै तागतले रोक्न सक्दैन’

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,९ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई अब कुनै पनि तागतले रोक्न नसक्ने बताएका छन ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज राजधानीको राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै दुबै पार्टीका शिर्ष नेताले पार्टी एकताका लागि खाका तयार भई सकेको भन्दै कसैले पनि एकतामा बाधा पुरयाउन नसक्ने उद्घोष समेत गरे ।

प्रधानमन्त्री ओलीले एकताको पुर्व सन्ध्यामा अलि अलि केही केही सेन्टीमेन्टल कुरा देखिएपनि एकतालाई बाधा नपुग्ने स्पष्ट पार्नुभयो । कम्युनिष्ट एकताको हित नचिताउनेहरुको आशाको टुुसो पलाउन नपाउदै पार्टी एकता घोषणा हुने भन्दै उहाँले अब एकतालाई कुनै पनि शक्तिले बाधा नपुर्याउने दाबी गर्नुभयो । उहाँले सबैलाई अचम्म पार्ने गरि बाम एकताको घाषणा गरे जस्तै गरी पार्टी एकताको घोषणा गर्ने बताउनु भयो ।

उहाँले पार्टी एकता मेलामा लगाएको मित नभई आन्दोलनको सहयात्रा र एउटै बाटोमा हिड्ने प्रतिबद्धता भएकाले त्यसलाई कसैले विथोल्न नसक्ने बताउनुभयो ।कम्युनिष्ट पार्टी फुटको लाभ दक्षिणपन्थी, कम्युनिष्ट विरोधीले लिने भन्ने हुन सक्दैन भन्ने संकल्पका साथ आफुहरु एकजुट भएको उहाँले उद्घोष गर्नुभयो ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पछाडि फर्केर के भयो नभनि अघि बढ्न आग्रह समेत गर्नुभयो । दुई दलबीचको १६ बुँदे सम्झौतामा बाँधेर र चेपेर नै संविधान जारी गरेको तथा आफुहरुकै दबाब पछि मात्रै संविधान कार्यान्वयनका लागि चुनाब गरिएको जिकिर गर्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दलले सरकार विरुद्ध अफवाह फैलाउने काम गरेको दाबी गर्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सनिबार राजधानीमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले सुसासन र पारदर्शीताका साथ अघि बढेको सरकारका बारेमा अन्योल खडा गरि अधिनायवाद सुरु भईसक्यो भन्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।

प्रशासन र सरकार भनेको मालिक र शासक नभएको भन्दै उहाँले जनताका सबै समस्या समाधानका लागि संयोजनकारी भुमिकामा रहने विश्वास दिलाउनुभयो ।विगत देखिको राजनीतिक यात्राको चर्चा गर्दै उहाँले कम्युनिष्टलाई जनताले अपनाउन खोज्दा पनि तिरस्कार गराउने षडयन्त्र भएको टिप्पणी गर्नुभयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा २०१७ साल देखिनै कम्युनिष्टहरुमाथि अत्यन्तै दमनकारी ढंगले छिन्न भिन्न पार्ने काम भएको दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भईरहेको बताउनु भयो ।उहाँले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भईरहेको बताउनुभएको हो । मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उहाँले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताउनुभयो ।