काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो ।
आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आउँदैछ भन्नुभयो । सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए । वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

