बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिनुभयो ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भन्नुभयो, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न सरकारले सघाउने बताउनुभयो ।
कार्यक्रममा दीक्षान्त मन्तव्य दिँदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा डा गल्ल्येसुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

