काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आजदेखि छलफल शुरु भएको छ ।
उक्त छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सत्तापक्ष नेकपा (एमाले)का भीमबहादुर रावलले नेपालको संविधान र राजनीतिक दलको घोषणापत्रलाई आत्मसात् गरेर बजेटका सिद्धान्त र प्राथमिकता अघि सारिएको बताउनुभयो । कृषिको आधुनिकीकरण, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रियताको प्रवद्र्धन गर्ने कुरा पनि बजेटमा समावेश हुनपर्छ भन्दै सांसद रावलले विकास र समृद्धिको लक्ष्यको समयसीमा तोकेर जान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाल सदनमा आएका विचारलाई विनियोजन विधेयकमा सुझावका रुपमा समेटिने र निरर्थक साबित नहुने विश्वास व्यक्त गर्नुभयो । राजश्वबाट नौ खर्ब, वैदेशिक सहयोग एक खर्बको हाराहारीमा मात्र रकम प्राप्त हुने सम्भावना रहेको हुँदा बढी महत्वाकांक्षी नबन्न पनि सरकारलाई उहाँले सुझाव दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद अग्निप्रसाद सापकोटाले सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यून गर्ने ढंगबाट सर्सर्ती हेर्दा आधारभूत रुपमा बजेटका प्राथमिकता र सिद्धान्त सही र सकारात्मक रहेको टिप्पणी गर्नुभयो । पूर्वाधार निर्माण, गरिबी अन्त्य, सुशासन प्रवद्र्धनका साथै तल्लो वर्ग र समुदायलाई आत्मनिर्भर बनाउन बजेटले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सहकारीको माध्यमबाट कृषि विकासका लागि चक्लाबन्दी, औद्योगिकीकरणलगायतका कार्यक्रम प्राथमिकता र सिद्धान्तमा नसमेटिएका बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले मुलुकको अर्थतन्त्र कुन ढाँचामा लैजाने भन्ने कुरा अझै स्पष्ट नभएको बताउँदै पुरानै ढर्राबाट सिद्धान्त र प्राथमिकतामा आएको टिप्पणी गर्नुभयो ।

