काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलेजुनसुकै वंशज नेपाली नागरिक सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै व्यवधान नहुने स्पष्ट पार्नु भएकाे छ ।सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिकता प्राप्तिका बिषयमा स्पष्ट पार्नु भएकाे हाे । साथै उहाँले समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुने समेत स्पष्ट पार्नुभयो ।
सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताउनुभएको छ । सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिने बताउदै प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइने उल्लेख गर्नु भयाे ।
प्रधानमन्त्री ओलीले अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताउनुभयो । नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पु¥याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
देशको सुरक्षा, सम्मान, हित र पूर्वाधारलगायतका आधारबाट जनताबाट जनतालाई सुख र समृद्धि तुल्याउने नयाँ राजनीतिक प्रणालीको अभ्यास भइरहेको बताउँदै उहाँले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, व्यापक रोजगारी सिर्जना, उत्पादन र रोजगारी, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने कुरा नीति र कार्यक्रम प्रस्तुत भएको बताउनुभयो ।
“कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ, पानीजहाजबाट सामान ढुवानी हुनेछ । रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको छ, तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन”, उहाँले भन्नुभयो ।
विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्काे वर्ष विद्युत्भार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको बताउँदै उहाँले उत्पादित विद्युत् प्रसारण लाइनको व्यवस्थापन गरेर आवश्यकतानुसार व्यवस्थापन गरिनेछ भन्नुभयो ।सबैखाले एकाधिकारलाई अन्त्य गरिने दृढता उहाँले व्यक्त गर्नुभयो ।