चितवन, २४ जेठ।विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए ।
खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो । सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन् । यो राजधानीसँग जोड्ने लाइफलाइन पनि हो । समयमा काम सक्न ठेकेदार कम्पनीहरुलाई दबाब परिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा भिडियो सन्देश जारी गर्नुभयो । त्यसमा जेठ २५ गतेबाट नारायणगढ मुग्लिन सडक नरोकिने उल्लेख थियो । यस सँगै कालोपत्रको पहिलो तह सकेर बाटो खोल्नुपर्ने दबाबमा नारायणगढ मुग्लिन सडक आयोजना प¥यो । सडकको पहिलो तहको कालोपत्र सकिएसँगै यो सडक ३० मिनेटदेखि एक घण्टा सम्ममा आवतजावत गर्न सकिने भएको छ ।
आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले चार किलो र भालुढुङ्गा नजिकै पहिरो रोक्न कठिन भए पनि अन्यत्र पहिरो रोक्ने काम भइरहेको बताउनुभयो । कुनै ठाउँमा पहिरो खसेमा तयारी अवस्थामा पहिरो पन्छाउने उपकरण रहने भएकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकिने बताउनुभयो ।रासस
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

