भीमदत्तनगर। राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुवाती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ ।
कञ्चनपुर भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बालिका पन्त हत्या प्रकरणमा जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो, त्यो नभएको आयोगको ठहर रहेको बताउनुभयो ।
“जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, उहाँले भन्नुभयो, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।”
घटनापछि मानव अधिकार आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ ।
यहाँ आइपुग्नु भएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्ति लगायतसित भेटसमेत गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारदेखि नेपाल प्रहरीसितको सहकार्यमा महिलाहिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियानको प्रारम्भ गरिरहेको छ ।
बालिका पन्तको प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै सो घटना सम्बन्धी अनुसन्धान तथा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा शुरुवाती अवस्थामा नै प्रहरीले अनुसन्धानकार्य प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको जनाएको छ ।
त्यसैगरी मानव अधिकार आयोगको प्रदेश नं ७ को कार्यालयमा महिला हिंसासम्बन्धी गत आर्थिक वर्षमा २० वटा उजुरी परेको र हाल उक्त उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भ गर्न लागिएको राष्ट्रिय अभियानका क्रममा सबै प्रदेशसहित काठमाडौँमा समेत सरोकारवालाबीच विभिन्न कार्यक्रम आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।
उक्त घटनाका सम्बन्धमा हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

