काठमाडौँ, ३ असोज ।विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ। अन्य १६ जना नेपाली गम्भीर बिरामी भएका छन्।
मलेसियाको सेलेङगर शहरमा विशाक्त मदिरा सेवनबाट धादिङको बसेरी–३ का मिमबहादुर घले, रुपन्देही मसिना ६ का रामकुमार यादव, डडेल्धुरा अमरगढी–५ का बिशाल बुढाथोकी, सुनसरी पश्चिमकुसाहा–९ का सञ्जय उराव, इलामा सिद्धिथुम्का–९, का बलबहादुर कुलुङ र आइत सिंह गोलेको उपचारका क्रममा मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
विशाक्त मदिरा सेवनबाट बिरामी परेका १६ जनाको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। उनका अनुसार बिरामीमध्ये चार जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जना र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको उनले बताए। बिरामी परेकाहरुको सुनगाई अस्पताल, काजङ, व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा उपचार भइरहेको छ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको जानकारी पाउना साथ नेपाली दूतावासले दुईवटा टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको राजदूत खरेलले जानकारी दिए।

