भेटी व्यवस्थापन निर्देशिका,दुई वर्ष बित्दासमेत कार्यान्वयन भएन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्देशिका लागू हुने जनाएको थियो । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ ।

विसं २०७३ कात्तिक २ गते मन्त्रालयले निर्देशिका जारी गरेको थियो । धार्मिकस्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने निर्देशिकामा उल्लेख छ । निर्देशिका आएलगत्तै कार्यान्वयनका लाग तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले जानकारी दिनुभयो ।

“पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ, अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले जनाएको छ । विसं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ ।