लमही, २६ असोज ।उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।
अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताउनुभयो ।
सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उहाँको भनाइ थियो । “हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ” कृषक कुमालले भन्नुभयो, “तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”
त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।
तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उहाँको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिनुभयो ।
यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।

