काठमाडौं– लामो समयपछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।
दिउँसो १ बजेदेखि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठक करिब दुई घन्टा बसेर सोमबारका लागि स्थगित भएको हो।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। दुवै अध्यक्षका तर्फबाट प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राखेका छन्।
प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको अध्यक्षद्वयको प्रतिवेदनमा गौतमले आठ बुँदे फरक मत राखेका हुन्। उनको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ।
बैठकमा अध्यक्ष ओलीले सरकार तथा अन्य समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए।
विधानमा तीनतीन महिनामा बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक पाँच महिनाभन्दा बढी अवधिमा आज बसेको हो। यसअघि असार २१ गते छोटो समयको लागि बैठक बसेको थियो।
माओवादी र एमालेबीच गत जेठ ३ गते एकता भए पनि तल्ला कमिटीको एकता भइसकेको छैन। केही हप्ताअघि प्रदेश कमिटी टुंगो लगाइए पनि जिल्ला तथा जनवर्गीय संगठनको एकताले अन्तिम रुप पाएको छैन। साथै, पोलिटव्युरोको चयन तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी तय गरिएको छैन।
(याे समाचार nepallive.com बाट लिर्इएकाे हाे । )