धनुषा, ११ माघ । जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा ३ महिला, १ बालिका र एक बालक छन् भने एकजनाको शरीर डढेकोले पहिचान हुन सकेको छैन । गम्भीर घाइते २ जनालाई जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए ।

