दुई वर्षीया बालिका अपहरण गर्ने गुप्ता पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २२ माघ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । 

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । 

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनुभयो । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए । 

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् ।