मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

अमरगढी, १ फागुन । डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । 

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । 

विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि तीन वर्ष भइसकेकाले अब के गर्ने भन्ने अवस्था सिर्जना भएको मुक्त हलिया दीपक कामीले बताउनुभयो । 

जिल्ला मुक्त हलिया समाज डडेल्धुराले विसं २०६४ मा गाउँपालिका–१ मा १२२ मुक्त हलियाको नाम सङ्कलन गरेको थियो । तर, ती नाम अहिले गायब भएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताउनुभयो । महासङ्घका अध्यक्ष ईश्वर सुनारले उनीहरूको नाम भूमिसुधार मन्त्रालयले लिएको तथ्याङ्कबाटै हटाएको बताउनुभयो । 

मुक्त हलियाको नाम गायब हुनुमा राजनीतिक दलकै नेतृत्वको हात रहेको उनीहरुको अनुमान छ ।