काठमाडौँ, १९ फागुन । पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् ।
यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार स्वयंसेवक परिचालन हुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताउनुभयो ।
शिवरात्रिका लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रङरोगन गरेर सजाउने कार्य भएको छ । शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ । शिवरात्रीकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको सदस्य ढकालले बताउनुभयो ।
पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड – दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी –इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान – सुमार्गी भवन अगाडि – चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् ।
त्यस्तै तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

