काठमाडाैं,२७ असार ।लगातारको वर्षाले मुलुकभरकै जनजीवन प्रभावित बनेको छ । राजधानी उपत्यका लगायत देशैभर भइरहेको वर्षाले ग्रामीण सडक अवरुद्ध बनाएको छ भने ठाउँ-ठाउँमा पहिरो गएको छ । देशैभर परेको पानीले केहीलाई राहत भएको छ कहीं आहत । अविरल वर्षाकै कारण प्राकृतिक प्रकोपको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सतर्क रहन सुझाएका छन् ।
हालसम्म मुलुकका विभिन्न ठाउँमा ५ जनाले जनाले ज्यान गुमाएका छन् ।
बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए ।
तीन दिनदेखिको अविरल वर्षाले तराई–मधेसका अधिकांश क्षेत्र डुबानमा परेका छन् । पानी निकास नहुँदा जनकपुर डुबानमा परेको छ । प्रदेश २ को मुख्यमन्त्री कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत दर्जनौं सरकारी कार्यालय डुबानमा परेको छ ।
यस्तै वर्षाले जनकपुर उपमहानगरका १, २, ३, १०, ११ लगायत वडाका घर पनि जलमग्न भएका छन् । पिडारी चोक, नमुनाबस्ती, मुजेलिया, विश्वकर्मा चोक, सरन्चिया चौरी, माछा बजार, बसपार्क, पुलचोक, सीता चोक, कदम चोकलगायत स्थानमा निकास नहुँदा घर–घरमा पानी पसेको हो । पिडारी चोकको नमुना बस्तीमा ४ फिटसम्म पानी जमेको छ । हालसालै बनाइएका जनकपुरका सडकहरू पनि जलमग्न छन् । ग्रामीण क्षेत्रका सडकहरु हिलाम्मे बनेका छन् ।
भारी वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । रौतहटको लाल बकैया नदी बन्जरहा बाँध फुटाएर सडक हुँद बस्ती पसेको छ । बाढीले बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवासहित करिब आधा दर्जन बस्ती डुबानमा परेको छ । सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिम आउँदै गरेका र पूर्वतर्फ जाँदै गरेका सवारीसाधान र यात्रु बाटैमा अलपत्र परेका छन् ।

