काठमाडाैं,१३ भदाै ।सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती भैंसेपाटीबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई शुक्रबार बिहानै पक्राउ गरेको हो ।
सीआईबी प्रवक्ता तथा एसपी दीपक रेग्मीले फरार ठेकेदार भारतीलाई शुक्रबार बिहान पक्राउ गरेको पुष्टि गरे । उनले भने, ‘हामीले फरार भारतीलाई पक्राउ गरेका छौं ।’ भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने तयारी भएको सीआईबीले जनाएको छ ।
डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट भारतीसहित ३ पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न विशेष अदालत काठमाडौंले निर्देशन दिएको थियो ।
ठेकेदारका प्रतिनिधि भारतीलाई विशेष अदालतले १ वर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरेको थियो । त्यसयता भारती फरारको सूचीमा थिए । सर्वोच्चले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो ।
सुडान घोटाला काण्डमा पूर्वआईजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसमेत दोषी ठहर भई सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।

