एजेन्सी । चिकित्सकहरुले प्रशोधित खानेकुराको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन्।
१० वर्षसम्म आलु चिप्स र कुरकुरेजस्ता प्रशोधित खानेकुरा मात्र खाने गरेका
बेलायतका एक जना १७ बर्से किशोरले दृष्टि गुमाएपछि चिकित्सकहरुले त्यस्ता खानेकुराबाट टाढै रहन भनेका हुन्।
नेत्ररोग सम्बन्धी डाक्टरहरुले ती किशोरले त्यस्ता फास्ट फुड मात्र नियमित खाने गरेकाले आँखाका लागि आवश्यक पौष्टिक तत्वको अभावमा दृष्टि गुमाएको र अब उनको दृष्टि नफर्कनेसमेत जानकारी दिएको द इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
बेलायतको ब्रिस्टलमा डाक्टरहरुले ती किशोरको उपचार गरेका थिए। ती किशोरको दृष्टि धमिलिँदै गएपछि उपचार थालेका डाक्टरहरुले उनको दृष्टि पूरै गुमाउन्जेलसम्म उपचार गरेका थिए। उपचाररत रहँदा नै ती किशोरको दृष्टि क्षमता गुमेको थियो।
प्राथमिक तहको शिक्षा सकेलगत्तै ती किशोरले चिप्स, फ्रेन्च फ्राइज, प्रिंगल र सेतो पाउरोटी लगायत ‘रेडिमेड’ खानेकुरा मात्र खाने गरेको उनको परिवारले बताएको छ। उनले आक्कलझुक्कल मात्र ह्यामका केही टुक्रा वा ससेज खाने गरेका थिए।
उनको दृष्टिसम्बन्धी गरिएका विभिन्न परीक्षणबाट उनको शरीरमा भिटामिनको अत्यधिक कमी देखिनुका साथै कुपोषणका कारण दृष्टिसम्बन्धी स्नायुमा निको नहुने गरी क्षति पुगेको पाइएको छ।
नाम सार्वजनिक नगरिएका ती ब्रिस्टल सहरका किशोरले ७ वर्षको उमेरदेखि नै प्रशोधित खानेकुरा मात्र खान थालेको उनकी आमाले बताइन्।
उनी १४ वर्षको उमेरमा पुग्दा नपुग्दै उनको श्रवण क्षमता निकै घद्दै गएपछि डाक्टरकोमा उपचारका लागि लगिएको थियो। उनले कम सुन्न थाल्दा, जतिबेला पनि थाकेको महसुस गर्न र लगातार बिरामी हुन थालेपछि उनलाई उपचारका लागि डाक्टरकहाँ लगिएको थियो।
त्यसबेला डाक्टरले परीक्षणपछि उनको शरीरमा भिटामिन बी१२ को कमी रहेको भन्दै औषधि दिएका थिए। तर ती किशोरले नियमित औषधिसेवन नगरी बीचैमा छाडेका थिए भने फास्टफुड खान छाडेर सन्तुलित भोजन समेत गरेनन्।