चाबहिल–साँखु सडक दसैंसम्ममा पिच नभए ठेक्का तोडिने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडौं, २३ भदाै । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्ममा पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन्। यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो ।

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन। सडक विस्तारका क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो ।

चाबहिल–साँखु १२.४ किलोमिटर खण्डलाई चार प्याकेजमा ठेक्का लगाइएको थियो। ठेक्का लगाइएको चार वर्ष बित्दा पनि काम लथालिङ छ। पानी पर्दा हिलो र घाम लाग्दा धूलोका कारण यो सडक प्रयोग गर्ने यात्रु आजित छन् ।

बालबच्चालाई विद्यालय लैजान, बिरामी पर्दा आकस्मिक सवारीसाधान बोलाउन र दैनिक काममा पनि सडक बाधक बन्ने गरेको छ। तोकिएको क्षेत्रफलमा विस्तार गर्दा सडक आसपासका अधिकांश घर भत्काउनु पथ्र्यो। स्थानीयको अवरोध र ठेकेदारको ढिलासुस्तीले सडक पिच हुन सकेको थिएन ।

सडक २२ मिटरमै विस्तार गर्ने गरी डिजाइन गरिएको थियो। तोकिएभन्दा कम क्षेत्रफलमा सडक विस्तार गर्न ठेकेदार तयार थिएन। सरकारले साइट क्लियर नगरेको भन्दै निर्माण व्यवसायीले काम अघि बढाएका थिएनन्।

सरकार, स्थानीय र ठेकेदारबीचको विवादले दुई वर्षसम्म विस्तार प्रक्रिया निकै सुस्त गतिमा थियो। यसैबीच सडक विस्तारका नाममा जनतालाई सुकुम्बासी बनाउन नहुने भन्दै स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

यी कारणले पनि विस्तारको काम सुस्त बनेको हो। २०७४ असोजमा अदालतले स्थानीयलाई उचित मुआब्जा दिएर सडक विस्तार गर्न निर्देशन दिएको थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।