काठमाडाैं । पुनःस्थापनापछिकाे प्रतिनिधिसभाको पहिलाे बैठक आज बस्दैछ । गत पुस ५ गते विघटीत प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आजलाइ अधिवेशन आह्वान गरिएकाे हाे ।
आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ ।संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीअनुसार बैठककाे सुरुमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्रेषित मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।
कार्यसूचीको तेस्रो नम्बरमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सक्ने सातजना सांसदको मनोनयन गर्नेछन् ।यसअघि सरकारले ल्याएका सातवटा अध्यादेश पनि सदनमा प्रस्तुत गरिनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्ने चौथो कार्यसूची छ ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश सदनमा प्रस्तुत गर्नेछन् ।स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले औषधी अध्यादेश पेस गर्नेछन् ।
कानुनमन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा सजायसम्बन्धी कार्यविधि संशोधन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐन संशोधन अध्यादेश र बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन अध्यादेश प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकको अन्त्यमा दुईजना यही संसदका सदस्य (प्रतिनिधि सभाका सदस्य सानु सिवा र सूर्यबहादुर केसी) र अरु १२ जना पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

