अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं ।आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो ।

महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बने पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

शुभकामना सन्देशमार्फत् उनले लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गरेकी छन् ।