काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले समम सीमाभित्रै पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।
एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।
उनीहरुले स्पष्टीकरणको जवाफमा आफूहरू पार्टी विरोधी गतिविधि नगरेको र नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको उल्लेख गरेका छन्।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय बमोजिम चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि र एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिल्यैकै अवस्थामा ब्युताएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ ।

