‘वर्ष २०७७ निरर्थक भएन,काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा भएकाेछ’

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । 

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनभयो ।

प्रधानमन्त्री ओलीले  सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको समेत बताउनु भयाे । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।