आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्बाह गर्ने ३६ जना ट्राफिक प्रहरी पुरस्कृत

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ ।  

सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएकाे थियाे ।  

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एव सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।  

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । त्यस्ता खराब प्रबृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए ।