काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समाधान गर्न सबै निजी जमिनको सरकारीकरण गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्नुहुँदै उपाध्यक्ष गौतमले जग्गाको निजी स्वामित्व अन्त्य नगरी भूमिसम्बन्धी समस्या समाधान नहुने बताए। सरकारले सबै निजी जग्गा किनेर योजनाका साथ लिजमा उपभोग गर्न दिनुपर्ने गौतमको प्रस्ताव छ ।
गौतमले निजी स्वामित्वको जमिन हुँदासम्म सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए । ‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समाधान हुँदैन,’ गौतमले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मूल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्यौँ र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौँ, जग्गा बाँडेर अर्को गल्ती नगरौँ।’
गौतमले नेपालमा हाल रहेका भूमिहिनहलाई बाँड्ने भनिएको जग्गा नै नभएको बताए । जग्गा बाँड्ने नाउँमा जङ्गल समाप्त पार्न नहुने उनले बताए ।गौतमले सबै भूमिहीनलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाव दिए ।
जग्गा एकीकृत गरेर त्यसको वैज्ञानिक तरिकाले प्रयोग गर्न सके मात्र समस्या समाधान हुने भन्दै उपाध्यक्ष गाैतमले सबै जग्गा सरकारको मातहत ल्याएर ठूला ठूला फार्म र उत्पादनमूलक काममा जग्गाको उपयोग गर्नुपर्ने बताए ।
विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको उनकाे तर्क थियाे ।

