काठमाडाैं,९ भदाै । माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन् ।
बुधबार निर्वाचन आयोग पुगेर उनीहरुले सनाखत गरेका हुन् । सनाखतका लागि ३३ जना सांसद निर्वाचन आयोग पुगे पनि ४ जनाको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको थियो । दल दर्ताको निवेदन दिँदा हस्ताक्षर नभएका ४ सांसदले हस्ताक्षर गर्न नपाएका हुन् ।
नयाँ दलले मान्यता पाउनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुग्नु पर्ने कानूनी बाध्यता छ । एमालेका २०३ केन्द्रीय सदस्य मध्ये ५४ जनाले हस्ताक्षर गरेका कारण माधव नेपालको पार्टीले मान्यता पाउने देखिएको छ ।
सनाखतपछि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता बिरोध खतिवडाले आफ्नो पार्टी गठन गर्न बिभिन्न अवरोध सिर्जना गर्न खोजिएको आरोप लगाउनुभयो । उहाले चूनाव चिन्ह महत्वपूर्ण नभएको र बिचार महत्वपूर्ण रहेको बताउनुभयो । आफुले भोट हालेर बनाउको सरकारलाई पूर्ण समर्थन रहेको उहाले बताउनुभयो ।
त्यस्तै नेतृ रामकुमारी झाँक्रीले सनाखतका लागि नाम भएका व्यक्तिलाई रोक्न नमिल्ने बताउनुभयो । उहाले आफ्नो पार्टी दर्ता नगर्न दवाव आएको आरोप लगाउनुभयो ।
त्यस्तै नेता गंगालाल तुलाधरले शशरिर उपस्थीत भएर सनाखत गरेको र आफ्नो पार्टीले अव मान्यता पाँउने दावी गर्नुभयो ।
नेकपा एमालेबाट छुटिट्ने निर्णय गर्दै माधव नेपाल पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । निवेदनका आधारमा आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई बुधबार आयोग बोलाएको थियो ।

