प्रदेश १ मा आज मुख्यमन्त्री फेरिने

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

काठमाण्डौ, १० भदौ । नेकपा एमालेले आफ्नो दलको सरकार जोगाउन आज मुख्यमन्त्री परिबर्तन गर्न लागेको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको हो ।आज ११ बजे बस्ने एमाले प्रदेश १ संसदीय दलको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्न लागेको हो ।
एक साँसदका अनुसार ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र ३ बजेभित्रै मुख्यमन्त्रीको सपथ लिने सम्भावना छ।’
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन । ‘अब गुट भन्दा पार्टी महत्त्वपूर्ण भएकोले जे गर्दा एमाले पार्टी र सरकार जोगिन्छ त्यही गर्न मुख्यमन्त्री तयार हुनुनुन्छ,’ स्रोत भन्छ । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए।
नयाँ संसदीय दलको नेता र सरकार बनाउने कुरामा मात्रै होइन चालू आर्थिक वर्षको प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्ने मुद्दामा पनि मुख्यमन्त्री राई र नेता आचार्य एक भएका छन ।