चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ५ वर्ष अगाडि

काठमाडौँ, १० भदौ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हेडवर्क १०÷१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।” चैतमा काठमाडौँमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ ।

त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।” हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो ।