काठमाण्डौ,११ भदौ । हिजो साँझ अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको आत्माघाती बम विस्फोटमा परि १३ अमेरिकी सैनीक सहित ६० जनाको ज्यान गएको छ । एउटा बिस्फोट बिमानस्थलको मुख्य द्वारमा भएको थियो भने दोस्रो बिस्फोट बारोन होटल नजिक भएको थियो ।
बिमानस्थल आसपास रहेका ४२ नेपाली भने सुरक्षित रहेको नेपालको परराष्ट मन्त्रालयले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । हाल सम्म नेपाली नागरिक हताहत भएको खबर छैन । अफगानस्तान मामला समेत हेर्दै आइरहेका भारतकालागी नेपाली राजदुत निलाम्बर आचार्यले नेपालीहरुलाई सुरक्षाको लागी काबुल बिमानस्थल भन्दा केहि टाढै सुरक्षित बस्न आग्रह गरेका छन ।
बिबिसीका अनुसार १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको हो ।
विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो ।
जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ ।
यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए तर चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन । उनले मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताएका हुन । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरुलाई कारबाही समेत हुने दाबी गरेका छन ।
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।