काठमाडौँ, १३ भदौ। नेपालमा याे वर्षकाे मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । झण्डै छ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्षति भएको छ ।
नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ । मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो ।
यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ । प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ ।
अन्य छ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ ।
यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ । मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिनुभयो । उहाँले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिनुभयो । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ ।