काठमाडाैं,१२ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारीलाई अघि बढाएका छन् ।राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका हुन् ।
मंगलबार मन्त्रालय टुंगो लागेमा बुधबार र नलागेमा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।प्रधानमन्त्रीसहित कांग्रेसलाई सात, माओवादी, एकीकृत समाजवादी र जसपालाई ५/५ मन्त्रालय र १/१ राज्यमन्त्री दिने लगभग सहमति भएको छ।
अध्यादेश खारेज गर्ने कि नगर्ने भन्ने अन्यौलताका कारण प्रधानमन्त्री देउवाले सरकार बनेको ७७ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन्् ।
जसपाले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने अडान राख्दै आएको थियो । अध्यादेशका आधारमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को दर्ता खारेजीलाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको देखाउँदै नेपालले खारेज गर्न नहुने अडान लिएका थिए ।
मन्त्रिपरिषद् विस्तार अझै लम्बिन सक्ने भएपछि सरकारले खारेजीको बाटो लिएको हो । मन्त्रालय भागबन्डाका विषयमा मोटामोटी समझदारी भइसकेकाले अब दुईदिन भित्रमा सरकार गठन हुने दावी गरिएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्री बनाउनेहरूको नाम सत्ता गठबन्धन दलका नेताहरूसँग मागेका छन् । देउवाले दाहाल र नेपालसँग पनि मन्त्री हुनेहरूको नाम मंगलबारसम्म दिन आग्रह गरेका छन् । जसपामा अध्यक्ष यादव उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेर आफैं जान चाहेका छन् ।तर, प्रधानमन्त्री देउवा यस पटक उपप्रधानमन्त्री नराख्ने बिचारमा छन् ।
उपप्रधानमन्त्री नबनाउने कुरा भयो भने राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाने प्रबल सम्भावना छ ।
एकीकृत समाजवादीले आफ्नो पार्टीमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन अध्यक्ष नेपाललाई अधिकार दिइसकेकाले समस्या नभएको बताइएको छ । यस्तैमाओवादीले पनि अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ । कांग्रेसमा अब पाउने मन्त्रालयको संख्यामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई दिनुपर्ने माग गरिएको छ । प्रधानमन्त्री देउवाले आफू पक्षका चार जनालाई मन्त्री बनाइसकेका छन् ।