काठमाडौं १४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखी अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । कोभिड १९ को जोखिम कायमै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुपमा मात्रै चाडपर्व मनाउन पनि आदेश जारी गर्नु भएको हो ।
प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न समेत आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश जारी गरेको छ ।
बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र भौतिक उपस्थितीमै गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन पनि आदेश जारी भएको छ ।
वित्तिय संस्थालाई पनि अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिडको न्यूनतम मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।