धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,१९ असाेज । सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो।

न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो। एक महिना अघिको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायण प्रसाद पौडेल रहेको समिति गठन गरेको थियो। सो समितिले दुई साताअघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदनमा ढुंगानाले गैरकानुनी रुपमा सेयर खरिद गरेको उल्लेख गरेको थियो। त्यही आधारमा मंगलवारको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गरेको हो।

बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर ढुंगानाले आफ्नै छोरीका नाममा लिएका थिए।

अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले संस्थागत रुपमा धितोपत्र बोर्डका नाममा स्पष्टीकरण सोधेको थियो। व्यक्तिले सेयर लिएको प्रकरणमा संस्थागत स्पष्टीकरण सोधेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको समेत आलोचना भएको थियो।