हेटाैंडा । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।
शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।
प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।
प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।

