गत सप्ताहान्तमा युरोपका कैयौँ देशका सडकमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । नेदरल्यान्ड्समा प्रदर्शनकारीहरूको प्रहरीसँग झडप भएको थियो । उनीहरूले प्रहरीमाथि आगो र पटाका प्रहार गरेका थिए र सवारीसाधनहरू पनि जलाइदिएका थिए ।
उनीहरूलाई रोक्न प्रहरीले घोडा, लट्ठी, पानीको फोहोरा र हवाईफायर प्रयोग गरेको थियो । डच प्रधानमन्त्री मार्क रुटले बारम्बार रातको समयमा अस्थिरता भएपछि त्यसलाई हिंसा को संज्ञा दिएका छन् ।
बेल्जियममा पनि ठूलो स्तरमा भएको विरोध¥याली हिंसात्मक झडपमा परिणत भयो । प्रहरीको गाडी तोडफोड गरेपछि प्रदर्शनकारीहरू माथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरिएको थियो ।
शनिवार अस्ट्रियाको राजधानी भियनामा ४०,००० मानिसहरू विरोधर्यालीमा सहभागी भएका थिए । इटली, डेनमार्क र क्रोएशियामा पनि प्रदर्शनहरू भएका छन् ।
कोभिड १९ विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाका कारण मानिसहरू रिसाएका छन् । कोभिडका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ ।
त्यहाँ बार र रेस्टुराँहरू चाँडै बन्द गर्नुपर्ने हुन्छ र खेलकुद कार्यक्रम हुने स्थलमा भिडलाई निषेध गरिएको छ । बेल्जियममा मास्क लगाउनुपर्ने नियमलाई कडा बनाइएको छ । कोभिड पास अनिवार्य गरिएको रेस्टुराँजस्ता स्थानमा समेत मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ ।
त्यस्तै डिसेम्बरको मध्यसम्म अधिकांश मानिसहरूले हप्ताको चार दिन घरबाटै काम गर्नुपर्नेछ । जर्मनी, ग्रीस अनि चेक रिपब्लिकमा पनि यस्तै किसिमका व्यवस्थाहरू लागु भइसकेको वा हुने क्रममा छन् । सबैभन्दा कडा व्यवस्था अस्ट्रियामा लागु भएको छ ।
साभार : बीबीसी