नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधीले सभापतिका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेर घोषणापत्र बनाएका छन् ।
आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने काँग्रेस बनाउने निधिको मुख्य नारा छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस बनाउने उनको सङ्कल्प रहेको छ ।